एसियाली विकास बैंक (एडीबी) ले नेपाली नागरिक सोनु श्रेष्ठलाई आफ्नो दक्षिण एसिया विभागको महानिर्देशक पदमा नियुक्त गरेको छ। यस महत्त्वपूर्ण जिम्मेवारीसँगै श्रेष्ठले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा एडीबीको रणनीति निर्माण, कार्यान्वयन र समग्र कार्यसञ्चालनको नेतृत्व गर्नेछिन्।
नवनियुक्त महानिर्देशक श्रेष्ठले आफ्नो नियुक्तिप्रति खुसी व्यक्त गर्दै भनिन्, “दक्षिण एसियाको महानिर्देशक नियुक्त हुन पाउनु मेरा लागि सम्मानको विषय हो। म यस क्षेत्रका विकासोन्मुख सदस्य राष्ट्रहरूसँग निकट रहेर काम गर्न र समावेशी एवं दिगो विकासका लागि एडीबीको संलग्नतालाई अझ मजबुत बनाउन तत्पर छु।”
श्रेष्ठसँग विकासका क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ, जसमध्ये उनले २३ वर्ष एडीबीमै विभिन्न उच्च पदहरूमा बिताएकी छिन्। यो नियुक्तिअघि उनी दक्षिण एसिया विभागकै उप-महानिर्देशकका रूपमा कार्यरत थिइन्।
यसअघि उनले एडीबीको ‘स्वतन्त्र मूल्यांकन विभाग’मा उप-महानिर्देशक, वित्तीय क्षेत्र र व्यापार डिभिजन (दक्षिणपूर्वी एसिया) मा निर्देशक, सहायक सचिव र इन्डोनेसियाका लागि उप-कन्ट्री डाइरेक्टरका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी छिन्। उनले मध्य, पश्चिम र दक्षिणपूर्वी एसियामा एडीबीको कार्यसञ्चालनमा व्यापक अनुभव हासिल गरेकी छिन्।
नेपाली नागरिक श्रेष्ठले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि र स्नातकोत्तर तहको उपाधि हासिल गरेकी छिन्। उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमै स्नातक गरेकी हुन्।
एडीबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो विकासका लागि सहयोग गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो। सन् १९६६ मा स्थापना भएको यस बैंकमा हाल ६९ सदस्य राष्ट्रहरू रहेका छन्, जसमा ५० सदस्य एसियाली क्षेत्रकै छन्।
बैंकले जटिल चुनौतीहरू समाधान गर्न रणनीतिक साझेदारी र नवीन वित्तीय उपकरणहरूमार्फत पूर्वाधार निर्माण र जीवनस्तर सुधारमा काम गर्दै आएको छ।







