कास्की–१ मा मतदाताको रोजाइँ को ?

पोखरा । नतिजा परिवर्तन भइरहने क्षेत्रका रूपमा चिनिँदै आएको कास्की निर्वाचन क्षेत्र नं.१ फेरि एकपटक चर्चामा छ। मतदाताले समयअनुसार मत ‘स्विङ’ गर्दै आएका कारण यो क्षेत्र सधैं प्रतिस्पर्धात्मक मानिन्छ। यद्यपि पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनमा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयी हुँदै आएको छ।

एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहँदै आएको छ। अघिल्ला निर्वाचनहरूमा पनि यी दुई दलबीच नै कडा प्रतिस्पर्धा हुने गरेको थियो। तर यसपटकको चुनावी परिदृश्य केही फरक देखिएको छ। पाँच वर्ष नपुग्दै विघटित प्रतिनिधिसभापछि हुन लागेको निर्वाचनमा नयाँ शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मैदानमा उत्रिएको छ। यसले कास्की–१ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

विगतमा जस्तो यसपटक प्रतिस्पर्धा परम्परागत दलहरूमा मात्रै सीमित देखिँदैन । रास्वपाले पनि जितको दाबी गर्दै मतदातामाझ सक्रिय प्रचारप्रसार गरिरहेको छ। त्यस्तै, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।

रास्वपाले ‘भावी प्रधानमन्त्री’को रूपमा बालेन्द्र शाह (बालेन) लाई प्रस्ताव गर्दै चुनावी अभियानलाई तीव्र बनाइरहेको छ। यद्यपि प्रधानमन्त्री को बन्ला भन्ने टुंगो त चुनावी नतिजाले नै लगाउनेछ । संयोग के छ भने बालेन झापा–५ बाट उम्मेदवारी दिँदा कास्की–१ बाट भने खडकराज पौडेल (गनेस) उम्मेदवार बनेका छन् । यी दुवै २०७९ सालको स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’मार्फत चर्चामा आएका पात्र हुन् ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर बालेन मेयर निर्वाचित हुँदा पोखरामा पनि गनेसले ‘लौरो’ चिह्नमै मेयर पदमा उम्मेदवारी दिएका थिए। यद्यपि पोखरामा उनले ३ हजार ३० मत प्राप्त गरेका थिए ।

लेखकसमेत रहेका गनेस यसपटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। उनका प्रमुख प्रतिस्पर्धी भने पुरानै स्थापित दलहरू हुन्। चुनाव नजिकिँदै जाँदा सबै दल घरदैलो कार्यक्रम र सभासमारोहमा व्यस्त छन्। तर रास्वपाले भने ‘स्थानीयसँग संवाद यात्रा’ सुरु गरेर फरक शैलीको चुनावी अभियान अघि बढाएको छ।

माघ २१ गते रुपा गाउँपालिकामा संवाद यात्रा गर्दै उम्मेदवार पौडेलले आफू पदका लागि नभई देशको अवस्था सुधार्न राजनीतिमा आएको बताएका थिए। उनले नागरिकको अनुहारमा मुस्कान ल्याउने राजनीति आवश्यक रहेको धारणा व्यक्त गरे।

“म राजनीतिमा पदका लागि होइन, देशको अवस्था सुधार्न आएको हुँ। जनताको अनुहारमा मुस्कान ल्याउने राजनीति गर्नुपर्छ। देशको मुहार हाँस्न जनताको विश्वास जित्नु पहिलो सर्त हो,” संवाद यात्राका क्रममा पौडेलले भने।

कास्की–१ मा यसपटकको प्रतिस्पर्धा बहुपक्षीय बन्दै गएको छ। पुराना दलको प्रभाव, नयाँ शक्तिको आकर्षण र मतदाताको ‘स्विङ’ प्रवृत्तिले अन्तिम नतिजा कता जान्छ भन्ने चासो बढेको छ।

Scroll to Top