
तनहुँ । भानु नगरपालिका–६ स्थित श्री आदर्श सरस्वती माध्यमिक विद्यालयको ६७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिका–६ का वडाध्यक्ष धिरेश खनाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बुद्धिराज ढुङ्गानाले स्वागत मन्तव्य प्रस्तुत गरेको थियो भने शिक्षकद्वय सुशील न्यौपाने र आइतु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा विद्यालयका संस्थापक शुभचिन्तक तथा अक्षयकोष दाताहरूले विद्यालयको शैक्षिक विकासमा आफ्नो योगदान र अनुभव साझा गरेको थियो। विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक प्रकाश जिसीले प्रस्तुत गरेका थ्एि ।
कार्यक्रममा वडा सदस्य विमला अधिकारी, विद्यालयका पूर्वअध्यक्ष रामबहादुर श्रेष्ठ, विद्यालय सल्लाहकार मानबहादुर भण्डारी, मान्द्रे काली वनका अध्यक्ष प्रेमबहादुर खत्री लगायतले विद्यालयको प्रगति, चुनौती र भावी योजनाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।
उत्सवकै अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी
लाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकार कृष्ण अधिकारीको सांगीतिक प्रस्तुति तथा विद्यालयकी शिक्षिका तारादेवी कुँवरको नृत्यले कार्यक्रमलाई थप रौनक दिएको थियो।
यसै अवसरमा एसईई सामाजिक विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल प्रधानाध्यापक प्रकाश जिसी, नेपाली विषयमा शतप्रतिशत नतिजा ल्याउने शिक्षक सुशील न्यौपाने, लेखापाल बबिता मल्ल, कार्यालय सहयोगी देवबहादुर कार्की, विद्यालयलाई सामग्री सहयोग गर्ने शिक्षक गोपालप्रसाद जैशी तथा ट्रयाकसुट र कम्प्युटर मर्मतमा सहयोग पुर्याउने रामलाल श्रेष्ठलाई सम्मान गरिएको थियो।
कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै शैक्षिक तथा सांस्कृतिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ रहेको थिए ।







