नमस्ते ब्याण्डको ३७औँ वार्षिकोत्सवमा १९औँ महाशिवरात्री विश्वसंगीत महोत्सव: पोखरा–काठमाडौं–टोकियो गुञ्जिने

santan ads

पोखरा । नेपाली सांगीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अग्रणी समूह नमस्ते ब्याण्डले आफ्नो ३७औँ वार्षिकोत्सव तथा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा १९औँ महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ । 

महोत्सव संयोजक एवं ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङका अनुसार कार्यक्रम तीन चरणमा हुनेछ । फागुन १ गते काठमाडौं, फागुन ३ गते लेकसाइड पोखरा, र मार्च महिनामा जापानको टोकियो । 

पोखराको मुख्य कार्यक्रम फागुन ३ गते साँझ ६ बजेदेखि सुरु हुने र सोहि कार्यक्रममा नमस्ते ब्याण्डसँगै राजु लामा एण्ड मंगोलियन हार्ट, राजेश पायल राई, दीप श्रेष्ठ लगायत कलाकार को समेत प्रस्तुति रहने आज आयोजित पत्रकार सम्मेलन जानकारी गराएको हो । 

सन् १९८९ मा पोखराबाट उदाएको नमस्ते ब्याण्ड नेपाली पप–रक संगीतको महत्वपूर्ण धरोहर मानिन्छ ।  एकता, सन्देश, शान्ति, वेष्ट अफ नमस्ते, नमस्ते हिमालयन फिलिङ पार्ट १ ,पार्ट २ मा समावेश गीत संगीत मार्फत पुस्ता जोड्दै आएको छ र नेपालसहित जापान, युरोप तथा एसियाका विभिन्न देशमा प्रस्तुति दिँदै नेपाली संगीतलाई विश्वमञ्चमा पुर्‍याएको छ । 

गुरुङले ५० को दशकमा पोखरा नेपाली पप संगीतको केन्द्र रहेको स्मरण गर्दै, यस महोत्सवले पोखराको सांगीतिक गौरव पुनः बलियो बनाउने विश्वास गर्दै महोत्सव अवलोकनका लागि १०० र २०० दरका टिकट राखिएको जनाए ।

पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संघका सचिव सुरेश सुनारले गरेका थिए।

Scroll to Top