एनपिजेए अक्षयकोषमा सरिता गुरुङद्वारा १५ हजार सहयोग

santan ads

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।

सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् । पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा अहिले अमेरिका बस्छिन् ।

सहयोग ग्रहण पछि एपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबिच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छिन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग गरेकी हुन् ।
उक्त रकम अभियान्ता गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी हुन् ।

Scroll to Top