ghandruk mahotsav

घान्द्रुकमा फागुन पहिलो साता ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुँदै

santan ads

पोखरा । घान्द्रुकमा फागुन पहिलो साता ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति तथा रोधीं क्लब कोंड (घान्द्रुक) को संयुक्त आयोजनामा हुने महोत्सवबारे आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले महोत्सवले घान्द्रुकलाई सबै मौसममा घुम्न योग्य गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । ‘सबै मौसममा पर्यटन’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले पर्यटनसँगै खेलकुद पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा ढुङ्गेनी गाउँका रूपमा समेत परिचित घान्द्रुक विश्वको दोस्रो छोटो दूरीको गन्तव्यमा पर्न सफल भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस उपलब्धिलाई थप उचाइमा पुर्‍याउन महोत्सव टेवा बन्ने बताए ।

महोत्सवअन्तर्गत विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू समावेश गरिने छन् । मुख्य आकर्षणका रूपमा अन्तरपालिका वडा स्तरीय पुरुष भलिबल, प्रथम राष्ट्रव्यापी अन्तरपालिका खुल्ला बास्केटबल, घोडा दौड, भेडाको साड जुधाई, घान्द्रुक चक्रिय पदमार्ग दौड (५.५ किमी), छेलो प्रतियोगिता तथा महिला तथा पुरुष रस्साकसी प्रतियोगिता आयोजना गरिनेछ ।

रोधीं क्लब कोंड (घान्द्रुक) का अध्यक्ष लछिन गुरुङले खेलकुद, कला, संस्कृति तथा स्थानीय रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले निरन्तर काम गर्दै आएको बताए । महोत्सवले स्थानीय संस्कृति चिनाउने र पर्यटक आकर्षणमा थप सहयोग पुग्ने उनको भनाइ छ ।

फागुन ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने महोत्सव मेश्रम बराह माध्यमिक विद्यालय, घान्द्रुक, कास्कीमा आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागी विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तरपालिका वडा स्तरीय पुरुष भलिबल र प्रथम राष्ट्रव्यापी अन्तरपालिका खुल्ला बास्केटबल प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ, द्वितीयले १ लाख ११ हजार १११ रुपैयाँ र तृतीयले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १११ रुपैयाँ, द्वितीयले ४० हजार ४४४ रुपैयाँ, तृतीयले २० हजार २२२ रुपैयाँ, चौथोले ११ हजार रुपैयाँ, पाँचौँले ९ हजार रुपैयाँ, छैटौँले ७ हजार रुपैयाँ र सातौँले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

घान्द्रुक चक्रिय पदमार्ग दौड (५.५ किमी) प्रतियोगितामा प्रथम हुनेले १६ हजार ६६६ रुपैयाँ, द्वितीयले ७ हजार ४४४ रुपैयाँ र तृतीयले ३ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी छेलो प्रतियोगितामा प्रथम हुनेलाई १६ हजार ६६६ रुपैयाँ र द्वितीयलाई ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

पुरुष रस्साकसी प्रतियोगितामा प्रथम हुने टिमले ११ हजार १११ रुपैयाँ र द्वितीयले ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने महिला रस्साकसी प्रतियोगितामा पनि प्रथमलाई ११ हजार १११ रुपैयाँ र द्वितीयलाई ५ हजार ५५५ रुपैयाँ पुरस्कार रहेको छ ।

आयोजक संस्थाले महोत्सवको सफलताका लागि सञ्चार माध्यमको सहयोग अपेक्षा गर्दै घान्द्रुक क्षेत्रको पर्यटन प्रवर्द्धनमा समाचार सम्प्रेषण गरिदिन पत्रकारहरूलाई आग्रह गरेको छ ।

Scroll to Top