
पोखरा । पोखरामा आजदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता प्रतिभा मावि पोखराको आयोजनामा तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा सञ्चालन भएको हो ।
पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेको प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले विजयी शुरुवात गरेका छन् ।
उद्घाटन खेलमा प्रतिभाले वाराही माविलाई ३ विकेटले हराएको थियो ।
वाराहीले निर्धारित १७.१ ओभरमा १२६ रन बनाएकोमा अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सहबुदिन अन्सारीले ४३ रन, मिसन विकले १४ रन र साहिल खानले १२ रनको योगदान दिए । सबुदिन अन्सारी खेलकै प्लेयर अफ दी म्याच घोषित भए ।
दोस्रो खेलमा बाल मन्दिर मावि ले ग्लोबल कलेजियट लाई ६ विकेटले पराजित गरेको थियो । ग्लोबलले १५.१ ओभरमा ७१ रन मात्र बनाउन सके। बाल मन्दिरका सुमन अधिकारी ले ३.१ ओभरमा ९ विकेट लिएर ह्याट्रिकसहित ५ विकेट हत्याए भने सुवास पठायत ले ३ ओभरमा ३ विकेट लिए । जवाफी ब्याटिङमा बाल मन्दिरले १२.१ ओभरमा ७२ रनको लक्ष्य पुरा गर्दै ४ विकेट गुमायो । सुमन अधिकारी खेलकै प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभावान खेलाडीहरूलाई अवसर दिनुका साथै खेलकुदसँगै शिक्षा र पर्यटनको विकासमा योगदान पुर्याउनु रहेको प्राचार्य किरण सापकोटा र विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले बताएका छन् ।
प्रतियोगितामा विजेता विद्यालयले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । प्रतियोगितामा बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याच लाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।







