महाशिवरात्री मेलाअन्तर्गत चिप्लीमा भलिबल, विजेतालाई ८० हजार

santan ads

पोखरा । कास्कीको मादी गाउँपालिका–६ स्थित पर्यटकीय चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म भव्य रूपमा महाशिवरात्री मेला आयोजना हुने भएको छ ।

चिप्ली गाउँमा सक्रिय सिद्ध युवा क्लबको आयोजनामा क्लबको ३८औं वार्षिकोत्सवको अवसर पारेर ३ दिने महाशिवरात्री मेला सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार मेलाले चिप्ली गाउँको पर्यटन प्रवर्द्धनसँगै स्थानीय खेलकुद, संस्कृति र सामुदायिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र म्युजिक चियरजस्ता आकर्षक खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछन् ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ८० हजार रुपैयाँ तथा उपविजेताले ४० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन प्रतिटिम ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । छेलो प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँ, प्रमाणपत्र र फेटाले सम्मान गरिने आयोजकले जनाएको छ ।

मादी गाउँपालिका–६ मा अवस्थित चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक र तप्राङ हुँदै सहजै पुग्न सकिन्छ ।
पोखराबाट करिब १ घण्टाको सवारी यात्रामा चिप्ली गाउँ पुग्न सकिनेछ ।

Scroll to Top