bt cup 2082

‘नवौं विरेन स्मृति १९औं बिटी कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने

santan ads

पोखरा । पोखरा–१ स्थित पुरानो टुँडिखेलमा यही माघ २२ गतेदेखि ‘नवौं विरेन स्मृति १९औं बिटी कप सेभेन ए साइड खुला फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ ।

पोखरा–१ मा स्थापित बिटी (बुद्धटोल) युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्देश्य युवालाई खेलकुदमार्फत एकजुट बनाउने, सामाजिक सेवामा अभिप्रेरित गर्ने तथा कला, संस्कृति र संस्कारको संरक्षण गर्नु रहेको आयोजकले जनाएको छ ।

वि.सं. २०७० सालमा स्थापना भएको क्लबले यसअघि प्रतियोगिताका १८औं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। स्वर्गीय विरेन गुरुङको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताले गण्डकी प्रदेशलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्न तथा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख २ सय २२ रुपैयाँ तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई स्पोर्ट्स साइकल तथा अनुशासित टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको जानकारी दिएको छ । प्रतियोगिताका मुख्य प्रायोजक मायु गुरुङ रहेका छन् भने सह–प्रायोजक फायर पिज्जा र लेकसाइड रहेका छन् । साथै बिटी क्लब युके, बिटी क्लब हङकङलगायतको सहकार्य रहने आयोजकले जनाएको छ ।

Scroll to Top