
पोखरा । पोखरामा आयोजना हुन लागेको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिहिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता शनिबारदेखि पोखरा सुरु हुने र त्यसको तयारी पुरा भएको जानकारी दिएको हो ।
च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टोलीको सहभागिता रहनेछ। उद्घाटन दिन शनिबार पहिलो खेल बंगलादेश र भुटानबीच हुनेछ भने सोही दिन नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।
साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार प्रतियोगितामा सहभागी सबै टोली बिहीबार पोखरा आइपुगेका छ्न ।
नेपाली यु–१९ महिला टोली हाल बन्द प्रशिक्षणमा रहेको र मुख्य प्रशिक्षकको जिम्मेवारी यमप्रसाद गुरुङले सम्हालिरहेको कट्टेलले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई पोखरा महानगरपालिका–१६ लामाचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । च्याम्पियनसिप आयोजना गर्न करिब २ करोड ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
दर्शकका लागि टिकट दर पनि निर्धारण गरिएको छ । साधारण प्याराफिटतर्फको टिकट दर २०० र भीआईपीतर्फ ५०० रुपैयाँ कायम गरिएको छ ।
अहिलेसम्मका ६ संस्करणमध्ये बंगलादेशले ५ र भारतले २ पटक उपाधि जितेका छन् । एक पटक भने यी दुई टोली संयुक्त विजेता बनेका थिए । नेपाल भने सन् २०१८, २०२३ र २०२५ मा गरी ३ पटक उपविजेतामै सीमित भएको छ । हालै नेपालमा भएको महिला लिगले खेलाडीहरू लयमा रहेकाले यस पटक पोखरामा नेपालले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।







