
पोखरा । २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आदर्श क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा गण्डकी प्रदेशसहित विभिन्न जिल्लाबाट आठवटा प्रतिस्पर्धी टिम सहभागी हुने भएका छन्।
यस वर्षको आदर्श कपमा आयोजक आदर्श क्लब, कास्की जिल्ला फुटबल सङ्घ, नेपाल प्रहरी गण्डकी प्रदेश, गन्नी फुटबल क्लब पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङ्जा, म्याग्दी खेलकुद विकास समितितथा सशस्त्र प्रहरी बल गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता First Choice Food’s प्रालिको मुख्य प्रायोजनमा आयोजना हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख ५० हजार रुपैयाँपुरस्कार प्राप्त गर्नेछन्। यसका अतिरिक्त उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आदर्श क्लबका अध्यक्ष पदम गुरुङका अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ ९ गते कास्की जिल्ला फुटबल सङ्घ र नेपाल प्रहरी गण्डकी प्रदेशबीच हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जानकारी दिए।







