
काठमाडौं । आगामी टी-२० विश्वकपको तयारीका लागि यूएईमा भइरहेको तीन खेलको शृंखलामा अफगानिस्तानले विजयी सुरुवात गरेको छ।
दुबईमा सम्पन्न पहिलो खेलमा अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई ३८ रनले हराउँदै शृंखलामा १-० को अग्रता लिएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १८१ रनको सम्मानजनक योगफल तयार गर्यो।
अफगानिस्तानको सुरुवात खराब रहे पनि इब्राहिम जाद्रान र दरविश रसुलीले पारी सम्हाले। सुरुवाती दुई विकेट चाँडै गुमेपछि जाद्रान र रसुलीले तेस्रो विकेटका लागि १६२ रनको सानदार साझेदारी गरे।
इब्राहिम जाद्रानले ५६ बलमा अविजित ८७ रन बनाए भने दरविश रसुलीले ८४ रनको उत्कृष्ट पारी खेले।
१८२ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो। अफगानिस्तानका स्पिनरहरूसामु क्यारेबियन ब्याट्सम्यानहरू निरीह देखिए।
वेस्ट इन्डिजका क्वेन्टिन स्याम्पसनले सर्वाधिक ३० रन बनाए। गुडाकेश मोटीले२८, जोनसन चार्ल्सले २७ र म्याथ्यु फोर्डेले २५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।
जिया उर रहमानले सर्वाधिक ३ विकेट लिए भने कप्तान राशिद खान, मुजीब उर रहमान र नूर अहमदले समान २-२ विकेट झार्दै वेस्ट इन्डिजको ब्याटिङ लाइनअप ध्वस्त पारे।
विश्वकपअघिको यो जितले अफगानिस्तानको मनोबल उच्च बनाएको छ।







