अन्ततः बन्द भयो शिक्षण अस्पतालमा स्वास्थ्य बीमाका कार्यक्रम

santan ads

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल (टिचिङ) ले आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू स्थगित गर्ने घोषणा गरेको छ।

अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि शोधभर्ना बापतको ठूलो रकम भुक्तानी नपाएको र अस्पताललाई ठूलो आर्थिक भार परेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको हो।

मुख्य कारणहरू:

  • ४० करोड भुक्तानी बाँकी: अस्पतालका अनुसार हालसम्म बीमा दाबी बापतको करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।
  • ५० प्रतिशत मात्र दाबी स्वीकृत: अस्पतालमा बीमा मार्फत उपचार गराउने बिरामीको चाप बढ्दै जाँदा मासिक खर्च ५ करोड हाराहारी पुगे पनि बीमा बोर्डले ५० प्रतिशत मात्र दाबी स्वीकृत गर्दै आएको अस्पतालको गुनासो छ।
  • मासिक २ करोड घाटा: बोर्डको दररेट र अस्पतालको शुल्कमा एकरुपता नहुँदा अस्पतालले आफ्नो आन्तरिक स्रोतबाट खर्च व्यहोर्नुपरेको छ। यसले गर्दा अस्पताललाई मासिक २ करोड रुपैयाँ घाटा भइरहेको विज्ञप्तिमा उल्लेख छ।
  • सुनुवाइ नभएको: विगत २ वर्षदेखि अस्पतालको दररेटलाई नै अन्तिम मानिदिन बारम्बार आग्रह गर्दा पनि बोर्डले कुनै सुनुवाइ नगरेको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनले सूचनामा भनेको छ, “मासिक २ करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकोले यही २०८१ साल माघ ०१ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाको सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने ब्यहोरा जानकारी गराइन्छ।”

विगत २०७७ सालदेखि यो अस्पतालले सरकारी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो। टिचिङ अस्पतालमा दैनिक हजारौँको संख्यामा बिरामीहरू उपचारका लागि पुग्ने गर्छन्। अस्पतालको यो निर्णयसँगै विशेष गरी न्यून आय भएका र बीमामा आश्रित बिरामीहरू प्रत्यक्ष मारमा पर्ने देखिएको छ।

Scroll to Top