
जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभित्र रहेका अवैध हातहतियार बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी माघ १५ गतेभित्र आफूसँग भएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ ।
विभिन्न कारणले व्यक्ति तथा समूहहरूसँग अवैध रूपमा रहेका हातहतियार तथा खरखजानाहरूले निर्वाचनको सुरक्षामा चुनौती पुर्याउन सक्ने जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “विभिन्न व्यक्ति तथा समूहहरूसँग अवैध रूपमा रहेका हातहतियार खरखजाना २०८२/१०/१५ गतेभित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी एकाइमा बुझाउन सूचित गरिन्छ ।”
प्रशासनले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा र पछि फेला परेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
निर्वाचन सुरक्षालाई मजबुत बनाउन र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि गृह मन्त्रालयको निर्देशन अनुसार देशका विभिन्न जिल्लाहरूमा यस्ता सूचना जारी गर्ने क्रम सुरु भएको छ ।
कास्की प्रशासनले यस कार्यमा सहयोग गरी निर्वाचनलाई शान्तिपूर्ण बनाउन सम्पूर्ण जिल्लाबासीसँग अनुरोध गरेको छ ।







