गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट ः उपाधीको लागि स्याङजा र कास्की भिड्ने

-


     नयाँ लिपि    
     असार ६ गते २०८१ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने भएको छ

स्याङजा समुह बीको विजेता र कास्की समुह ‘ए’ को समुह विजेता बन्दै फाइनलमा पुगेको हो ।
यी दुबै टोली भोली बिहिबार पोखरा रंगशालाको क्रिकेट मैदानम हुने फाइनल खेलमा आमने सामने हुने छ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सिमित गरिएको खेलमा १६ दशमलब ४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३ दशमलब ६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।

स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २ दशमलब ४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे ।

यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६।२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए ।
अहिले पोखरा रंगशाला पर्वत र गोरखाका बीच दोस्रो खेल भईरहेको छ ।