
नेपाली कांग्रेसले गत असारमा कुमार खड्कालाई पार्टीबाट निष्काशित गरेपछि राजनीतिमा निष्क्रिय देखिएका उनी भोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दैछन् ।
अखण्ड नेपाल, क्षत्री समाज हुदै नेपाली कांग्रेसमा समाहित भई गण्डकी प्रदेशमा पटकपटक मन्त्री बन्न सफल खड्का रास्वपा प्रवेशको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।
रास्वपाले शनिबार पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा प्रदेशस्तरीय पार्टी प्रवेश कार्यक्रम र सदस्य भेटघाट कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममार्फत उनी रास्वपा प्रवेश गर्नेछन् ।
हाल यस विषयले चर्चा पाएपनि खड्का रास्वपामा जाने टुंगो भने ४ महिना अघि नै भइसकेको थियो । कांग्रेसले निष्काशित गरेलगत्तै उनी रास्वपासँग सम्पर्कमा थिए ।
स्रोतकाअनुसार पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटघाट गरेपछि खड्का रास्वपा प्रवेश गर्ने निर्णयमा पुगेका थिए ।
नयाँबजारमा हुने कार्यक्रममा खड्कासँगै रामबजारका युवा व्यवसायी सुबिन गुरुङ पनि रास्वपा प्रवेश गर्दैछन् ।
खड्काले पोखराको वडा १६ र १९ का स्थानीयलाई समेत बसको व्यवस्था गरेर भजन कीर्तनसहित कार्यक्रमस्थलसम्म पुग्ने योजना बनाएका छन् ।
यता, केही समयअघि कांग्रेस छाडेका व्यवसायी विमल बसेल पनि रास्वपा नै प्रवेश गर्ने दाबी गरिएको छ । तर भोलीको कार्यक्रममार्फत सार्वजनिक नहुने रास्वपा स्रोत बताउँछ ।
स्मरणीय छ, तत्कालीन समयमा खड्का अखण्ड नेपालमार्फत संघीयता विरोधीको नारा लिएर राजनीतिमा होमिएका थिए ।







