तारेख बुझ्न पोखरा आएका लामिछानेले भने – ‘भाग होइन जिम्मेवारी बाँडेको हो’

santan ads

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटीहरू सच्याउने प्रतिबद्धता जनाएका छन् ।

सूर्यदर्शन सहकारी ठगी मुद्दाको तारेख खेप्न कास्की जिल्ला अदालत आएका उनले भने सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले कसैलाई भाग लगाएको नभई राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी बाँडफाँड गरेको दाबी गरे ।

पार्टीभित्र र बाहिरबाट समानुपातिक सूचीका विषयमा आएका जायज गुनासोहरूलाई सम्बोधन गरिने उनले बताए ।

‘हामीले बोक्नुपर्ने वा काखी च्याप्नुपर्ने कोही छैन,’ लामिछानेले भने, ‘निर्वाचन आयोगमा नाम सच्याउन अझै दुई दिनको समय छ । केही व्यक्तिको नाम सूचीबाट निकाल्ने तयारी गरेका छौं । ११० जनाको सूचीबाट १० जना हटाउँदा केही फरक पर्दैन ।’

उनले विभिन्न पेसा-व्यवसायमा आबद्ध व्यक्तिको राजनीतिक चेतलाई सम्मान गर्नुपर्ने भन्दै संसद्मा सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न खोजिएको बताए ।

यस्तै, उनले बालेन शाह र कुलमान घिसिङसँगको सहमतिले नागरिकमा नयाँ उत्साह थपिएको र यसलाई आम जनताले ‘सेलिब्रेसन’ गरिरहेको समेत उल्लेख गरे ।

Scroll to Top