‘जेन-जी आन्दोलनमा प्रधानमन्त्री र मैले गोली चलाउन आदेश दिएका थिएनौ’ – लेखक

santan ads

पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।

उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।

आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।

‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।

राजनीतिक नेतृत्वको हैसियतले घटनाको पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको लेखकको भनाइ छ ।

आन्दोलनका क्रममा नियोजित र प्रायोजित ढंगले नेताका घर, आश्रम र राज्यका संरचनामाथि आक्रमण भएको दाबी उनले गरेका छन् । भदौ २४ गते छानीछानी आक्रमण गरिएको, नेताहरूका आश्रम जलाइएको र गम्भीर आपराधिक गतिविधि भएको उनले बताएका छन् ।

Scroll to Top