सरकारबाट मिर्गौला र मुटुरोगीको उपचारबापत १८ करोड भुक्तानी नपाउँदा संकटमा अस्पताल

santan ads

मिर्गौला र मुटुरोगीको निःशुल्क उपचार बापत सरकारबाट पाउनुपर्ने झन्डै १८ करोड रुपैयाँ भुक्तानी नपाएपछि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल गम्भीर आर्थिक संकटमा परेको छ ।

सरकारले पुस मसान्तसम्म बक्यौता रकम उपलब्ध नगराए आगामी माघ १ गतेदेखि उपचार सेवा ठप्प पार्ने अस्पतालले चेतावनी दिएको छ ।

अस्पतालले बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी विपन्न नागरिक औषधि-उपचार कार्यक्रमअन्तर्गत मुटु र मिर्गौलाका बिरामीको उपचार गरेबापत १७ करोड ८१ लाख ९ हजार ३ सय ७९ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएको हो ।

अस्पतालले बुटवलसहित विभिन्न सेवा केन्द्रमार्फत हाल ५ सय ५१ जना मिर्गौला पीडितलाई नियमित डायलसिस सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पतालका अनुसार मिर्गौला तथा मुटुरोगीको उपचारबापत सरकारबाट प्राप्त गर्नुपर्ने कुल २० करोड ३९ लाख ३१ हजार ८ सय ७९ रुपैयाँमध्ये हालसम्म केवल २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी प्राप्त भएको छ । लामो समयदेखि ठूलो रकम रोकिँदा अस्पतालको दैनिक कार्य सञ्चालनमै अवरोध पुगेको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले समयमै रकम भुक्तानी नगर्दा औषधि तथा उपकरण खरिद प्रक्रिया रोकिएको र अस्पताल ऋणमा डुबेको बताए ।

उनले भने, “सरकारले नियमित रूपमा दिनुपर्ने करोडौँ रुपैयाँ नदिँदा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ । औषधि र उपकरणको आपूर्ति रोकिएकाले अब निःशुल्क उपचार सेवा जारी राख्न नसक्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।”

यस आर्थिक वर्षमा मात्रै अस्पतालले १ हजार ३ सय ८४ जना मुटुका बिरामीको ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार गरेको छ । त्यस्तै, मिर्गौला बिरामीहरूको डायलसिसतर्फ १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष आलमले जानकारी दिए ।

विगत लामो समयदेखि विपन्नको सहारा बन्दै आएको यो सामुदायिक अस्पताल बन्द हुने अवस्थामा पुग्दा सयौँ बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै अस्पताल प्रशासनले सरकारको ध्यानाकर्षण गराएको छ ।

Scroll to Top