पोखरा विमानस्थलमा ट्याक्सी व्यवसायीको ‘दादागिरी’ नियन्त्रण गर्न अखिलको माग

santan ads

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्याक्सी व्यवसायीहरूले सर्वसाधारणमाथि गरिरहेको दुर्व्यवहार र ‘दादागिरी’ तत्काल नियन्त्रण गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई पत्र बुझाउँदै संगठनले विमानस्थलमा निजी सवारी साधन प्रयोग गर्ने नागरिकमाथि भइरहेको अवरोध र धम्कीका घटनाप्रति गम्भीर आपत्ति जनाएको हो ।

विमानस्थल परिसरमा निजी कार र दुई पाङ्ग्रे सवारी साधनमार्फत आफन्तलाई लिन वा छाड्न जाने सर्वसाधारणलाई ट्याक्सी व्यवसायीहरूले अवरोध गर्ने, दुर्व्यवहार गर्ने र धम्की दिने गरेको अनेरास्ववियुको ठहर छ ।

यस्ता गतिविधिले सर्वसाधारणमा असुरक्षाको भावना सिर्जना गर्नुका साथै पर्यटनको राजधानी पोखराको प्रतिष्ठा र पर्यटन व्यवसायमा दीर्घकालीन नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सार्वजनिक स्थलमा कसैले पनि आफुलाई कानुन भन्दा माथि ठान्दै मनपरी शासन चलाउने अधिकार राख्दैन । ट्याक्सी व्यवसायीको नाममा भइरहेको यस्ता अराजक गतिविधि सिधै कानुनको उल्लंघन हो र यसप्रति कडा कारबाही नगरी प्रशासन मौन बस्नु चिन्ताको विषय बनेको छ ।’

संगठनले विमानस्थल परिसरमा अवैध रूपमा दादागिरी गर्ने ट्याक्सी व्यवसायीमाथि तत्काल कडा कानुनी कारबाही गर्न र निजी सवारी साधन प्रयोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न माग गरेको छ । साथै, ट्याक्सी सञ्चालनका लागि स्पष्ट नियम लागू गरी उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन समेत प्रशासनलाई आग्रह गरिएको छ ।

विमानस्थलमा हुने यस्ता गैरकानुनी कार्य नरोकिए नागरिकको स्तरबाट थप सशक्त विरोधका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत अनेरास्ववियुले दिएको छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा विमानस्थलको ट्याक्सी विवादबारे व्यापक जनगुनासो आएपछि विद्यार्थी संगठनले प्रशासनको ध्यानाकर्षण गराएको हो ।

Scroll to Top