
सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण र नियमन गर्न बागलुङमा सरोकारवालाहरूबीच बृहत् अन्तरक्रिया सम्पन्न भएको छ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगालेले प्रदेशको आफ्नै ऐन अनुसार नियन्त्रण अभियानलाई तीव्र पारिने बताएका छन् ।
सचिव डा. बगालेले भने ‘हामीसँग स्पष्ट कानूनी आधार छ। अब यसलाई व्यवहारमा उतार्न स्थानीय तह र प्रशासनको भूमिका महत्त्वपूर्ण हुन्छ।’
कानूनले सुर्तीजन्य पदार्थको नियमन गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘निरीक्षक’को विशेष अधिकार दिएको छ।
जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र कर्मचारीहरू सम्मिलित उक्त कार्यक्रममा सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने असर र यसको बिक्री-वितरणमा लगाइनुपर्ने कानूनी बन्देजका बारेमा छलफल भएको थियो।
प्रदेश सरकारले आगामी दिनमा यसलाई प्राथमिकताका साथ नीति र कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।
अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार २ सय जनाको वर्षेनि ज्यान जाने गरेको तथ्याङ्क प्रस्तुत गरे ।
देवकोटाका अनुसार, नेपालमा नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ हो । धुम्रपान गर्नेहरुमा उच्च रक्तचाप, सुगर, क्यान्सर स्वासप्रस्वास तथा मुटु रोगको जोखिम हुने देवकोटाले बताए ।
सूर्तिजन्य पदार्थबाट संकलित बजेट स्वास्थ्य मन्त्रालयले विशेष गरी क्यान्सर रोगीको उपचारमा खर्च हुने गरेको उनले जानकारी दिए ।
धुम्रपान नियन्त्रण गर्न सुर्तिजन्य पदार्थ कम उत्पादन गर्ने र जनचेतन जगाउनुपर्नेमा उनको सुझाव थियो ।







