कांग्रेस नेता चालिसेका पुरै परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा

santan ads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चालिसेले २०७४ जेठ ८ गते सार्वजनिक पद सम्हालेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा वैधानिक आयभन्दा अत्यधिक खर्च तथा लगानी गरेको पाइएको छ।

अनुसन्धानका क्रममा चालिसे र उनको एकाघर परिवारले जम्मा ४ करोड ८८ लाख ३५ हजार रुपैयाँभन्दा केही बढी वैधानिक आय आर्जन गरेको देखिएको छ।

तर त्यही अवधिमा उनीहरूले ८ करोड ५६ लाख ८३ हजार रुपैयाँभन्दा बढी सम्पत्ति सिर्जना, खर्च र लगानी गरेको अख्तियारको निष्कर्ष छ।

आय र खर्चको तुलनामा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले उक्त रकम गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गरेको छ।

आयोगका अनुसार चालिसेले वैधानिक आयको तुलनामा अस्वाभाविक रूपमा उच्च जीवनस्तर यापन गरेको पनि स्थापित भएको छ।

यस आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार बिगो ३ करोड ६८ लाख रुपैयाँ कायम गरी सोही बराबरको कैद र जरिवानासहित गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी लिएको छ। यसका साथै, सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई लुकाएको अभियोगमा थप सजायको पनि माग गरिएको छ।

अख्तियारले चालिसेका परिवारका सदस्य श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई पनि गैरकानूनी सम्पत्तिबाट खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।

Scroll to Top