
काठमाडौँको कोटेश्वरमा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारलाई भेट्न गृहमन्त्री र प्रहरी महानिरीक्षक (आइजिपी) आइतबार कास्कीको रुपास्थित मृतकको घरमै पुगेका छन्।
जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा मारिएका अमृतको परिवारलाई समवेदना दिन र ढाडस बढाउन उच्चस्तरीय सरकारी टोली कास्कीको रुपा गाउँपालिका पुगेको हो।
भेटका क्रममा गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका अमृतको योगदानलाई राज्यले कहिल्यै नबिर्सने बताए।
शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै गृहमन्त्री अर्यालले राज्य सधैं परिवारको साथमा रहेको भन्दै उचित क्षतिपूर्ति (परिपूरण) र सहयोगको प्रतिबद्धता व्यक्त गरे।
पत्नीलाई रोजगारीको आश्वासन
सो अवसरमा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले मृतककी पत्नी कान्ति गुरुङका लागि स्थायी जागिरको प्रबन्ध गर्न सरकारसँग माग राखिन्। कान्तिले मेजर अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेकी छन्।
जवाफमा गृहमन्त्री अर्यालले मृतकको शैक्षिक योग्यताका आधारमा रोजगारीको व्यवस्था गर्न पहल गर्ने आश्वासन दिए। उनले तत्कालका लागि तीनै तहका सरकार मिलेर परिवारको जीविका सहज बनाउन सहयोग गर्ने बताए।
मृतकका परिवारलाई भेट्न पुगेको उच्चस्तरीय टोलीमा गृहमन्त्री र आइजिपीसहित गृहसचिव रामेश्वर दङ्गाल, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यलगायत सहभागी थिए।







