
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ आगामी दिनमा व्यापारिक सम्भावना देखाउँदै सम्पन्न भएको छ ।
विविध कारणलले ५ दिनमात्र आयोजना गरिएपनि मेलाबाट नयाँपुस्ताले व्यापार, व्यवसाय सिक्न सफल भएको आयोजक संघको ठहर छ ।
मेलाको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको उनको दाबी छ ।
व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरूका लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए ।
पछिल्लो समय, बैङ्कसँग ऋण लिएर व्यापार –व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्युटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेमजालाई सम्मान गरिएको थियो ।
मेलामा कम्प्यूटर एसोसियशन अफ नेपाल (क्यान) सह आयोजकको भूमिकामा रहेको थियो ।







