मानसिकरुपमा स्वस्थ रहन आध्यात्मिक जीवन पद्दति अपनाऔंः – स्वास्थ्यमन्त्री गौतम

santan ads

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छन् ।

तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौँमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन् ।

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।

‘तनाव, बेचैनी, एक्लोपन र आफ्नो भावना अभिव्यक्त गर्ने उपयुक्त वातावरण नहुँदा मानिसहरूमा आत्मविश्वास घट्दै गएको छ । आत्मविश्वास नभएपछि जुनसुकै गलत कदम उठाउने जोखिम हुन्छ’, उनले भनिन्, ‘त्यसैकारण सकारात्मक सोचको वृद्धि गर्न सबैको भूमिका अपरिहार्य छ ।

सरकारले आफू मातहतका निकाय, अस्पतालमार्फत सरल र सहज सेवा प्रवाह, नीतिगत सुधारमार्फत काम गर्न खोजिरहेको छ । अरु सरोकार भएकाहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर काम गर्न आवश्यक छ ।’

मन्त्री डा गौतमले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवस्थापकीय र नीतिगत सुधारको काममा लागिरहेको उल्लेख गरिन् ।

Scroll to Top