गण्डकीमा महिला प्रहरीसँग लैंगिक हिंसाविरुद्धको अभियान

santan ads

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत पोखरामा सुरक्षाकर्मी महिलाहरूका लागि ‘लैंगिक हिंसा र मनोसामाजिक स्वास्थ्य’ विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजना तथा कोपिला नेपाल पोखराको सहकार्यमा पोखरा–१७ मा कार्यक्रम आयोजना गरिएको हो। ‘युनाइट टु इन्ड डिजिटल भायोलेन्स अगेन्स्ट विमेन एण्ड गर्ल्स’ भन्ने अन्तर्राष्ट्रिय र ‘प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसाको अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम गरिएको हो।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले प्रहरी संगठनको गौरव र साख कायम राख्नमा महिला प्रहरीको योगदान विशिष्ट रहेको बताए। उनले संगठनभित्र महिला प्रहरी कर्मचारीहरूका कुनै गुनासा भए तिनलाई विशेष प्राथमिकतामा राखेर सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कोपिला नेपाल पोखराकी अध्यक्ष बिना सिलवालले पछिल्लो समय लैंगिक हिंसाका घटनाहरूको अभिलेख बढ्दै गएकाले समाजमा जागरण ल्याउन अभियान चलाइएको बताइन्।

ड्युटी वा अन्य समयमा महिला प्रहरीले भोग्नुपरेका मनोसामाजिक तथा व्यावहारिक समस्याहरूबारे चर्चा गर्दै अध्यक्ष सिलवालले भनिन्, ‘आगामी दिनमा महिलाविरुद्धका अपराधहरू शून्य बनाउन सरोकारवाला सबै निकायहरू एक हुन जरुरी छ।’

Scroll to Top