
एचआईभी/एड्सको उपचार अन्य जटिल रोगहरूको तुलनामा सस्तो र सहज भए पनि सामाजिक लाञ्छनाका कारण संक्रमितहरू खुलेर उपचारमा आउन नसकेको सरोकारवालाहरूले बताएका छन्।
विश्व एड्स दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘पत्रकारसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. सरदचन्द्र बरालले एचआईभीको उपचार सेवा निकै सर्वसुलभ भइसक्दा पनि बिरामीले त्यसको उपभोग गर्न डराउने गरेको तीतो यथार्थ सुनाए।
“अन्य जटिल रोगको तुलनामा यसको उपचार सस्तो छ,” डा. बरालले भने, “तर विडम्बना, समाजले गर्ने भेदभाव र लगाउने लाञ्छनाका कारण संक्रमितहरू घर नजिकैको स्वास्थ्य संस्थामा जान डराउँछन् र उपचारका लागि टाढा–टाढा पुग्न बाध्य हुन्छन्।”
प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआईभी फोकल पर्सन लक्ष्मण बसौलाले समाजमा व्याप्त भेदभावले रोग लुकाउने प्रवृत्ति बढेको बताए। “जबसम्म समाजमा भेदभाव रहन्छ, तबसम्म सम्भावित संक्रमितहरू खुलेर परीक्षण गराउन आउँदैनन्,” उनले चेतावनी दिँदै भने, “यसले भित्रभित्रै संक्रमणको जोखिम झन् बढाउँछ।”
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले एड्ससम्बन्धी भ्रम चिर्न सञ्चारमाध्यमको भूमिका नेतृत्वदायी हुने बताए। समुदायमा सही सूचना पुर्याउन र मानिसहरूको भ्रम तोड्न पत्रकारहरूले यथार्थ कुरा बाहिर ल्याउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रीय सचिव मनोज गुरुङ लगायतले एड्स न्यूनीकरण र जनचेतनामा आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्ने धारणा राखेका थिए।
महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विद्या कोइरालाले स्वागत र सचिव भूपाल गुरुङले सहजीकरण गरेका थिए। यस वर्ष ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मूल नाराका साथ विश्व एड्स दिवस मनाइएको छ।







