
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १० खेल पूरा भएको छ । खेल यहाँसम्म आइपुग्दा यस सिजनमा सबैभन्दा बढी विकेट लिने बलर विराटनगर बोल्ट्सका कप्तान सन्दीप लामिछाने बनेका छन् ।
सिजनको ९ औं खेलमा जनकपुर बोल्टसको ४ विकेट लिएका थिए । यही खेलबाट जारी सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप पुगेका हुन् ।
सिजनमा जम्मा तीन खेल खेलेको विराटनगरको तर्फबाट सन्दीपले शतप्रतिशत तीन इनिङमा बलिङ गरेका छन् । उनी ७ विकेटसहित शीर्ष स्थानमा छन् ।
दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका हर्मित सिंह छन् । तीन इनिङमा ६ विकेटका साथमा उनी दोस्रो स्थानमा छन् ।
६ विकेट नै लिएका कर्णाली याक्सका कप्तान सोमपाल कामी बलिङ एभरेजका कारण तेस्रो छन् ।
जारी सिजनमा एक मात्रै शतक प्रहार गर्ने खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । उनले लुम्बिनीविरुद्ध अविजित ११४ रन जोडेका थिए ।
मार्क नै जारी सिजनमा सबैभन्दा बढी रन जोड्ने ब्याटर हुन् । तीन इनिङमा १४७ रन जोडेर उनी सर्वाधिक रन जोड्ने ब्याटर बनेका हुन् ।
दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन् । चितवनको शतप्रतिशत खेलमा ब्याटिङ गरेका उनले २ इनिङमै अर्धशतक प्रहार गरेका छन् । जारी सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर उनी नै हुन् ।
सबैभन्दा बढी रन हान्ने ब्याटरको सूचीको दोस्रो स्थानमा रहेका बोपाराले दुई इनिङको ब्याटिङबाट ११८ रन जोडेका छन् ।







