
थकाली चुलोबाट चितुवाको छालासहित २ महिला पक्राउ
ललितपुर प्रहरीले चितुवाको छालासहित २ महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार साँझ ग्वार्काेको बि एण्ड बि अस्पताल नजिक रहेको आगमन थकाली चुलो एण्ड क्याफेबाट उनीहरुलाई पक्राउ गरेको हो ।
क्याफेमा चितुवाको छाला अवैधरुपमा लुकाई छिपाई कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले मथुरा विक र रामदेवी श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले बोकेको सेतो झोलामा चेकजाँच गर्दा ४ फिट लम्बाईको चितुवाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरिएको वृत्तले जनाएको छ ।
उनीहरुको मोबाइलसमेत बरामद गरी प्रहरीले थप अनुसन्धान सुरु गरेको वृत्तले जानकारी दिएको छ ।







