‘मंसिर ७ देखि देशव्यापी बन्दसहित आन्दोलन, तोडफोडको जिम्मेवारी लिँदैनौ’ – प्रसाईँ

दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ महाअभियानले मंसिर ७ गतेदेखि आह्वान गरेको नेपाल बन्दका क्रममा कुनै पनि तोडफोड वा आगजनी भएमा त्यसको जिम्मेवारी अभियानले नलिने चेतावनी दिएको छ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रसाईंले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताए।

तर, यदि कसैले बन्दको अवज्ञा गरेर कुनै क्षति भएमा त्यसको जिम्मेवारी स्वयं व्यक्तिले लिनुपर्ने उनको भनाइ थियो।

प्रसाईंले भने, ‘हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर-व्यवसाय तोडफोड गर्ने किसिमको होइन। तर, भोलि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गर्दा कसैले बन्द उल्लंघन गर्छ, पसल खोल्छ भने त्यहाँ तोडफोड भयो, गाडी फुटाइयो, आगो लगाइयो भने त्यसको जवाफदेही हाम्रो अभियान हुँदैन।’

उनले आफ्नो आन्दोलन जेन-जीको आन्दोलनजस्तो नहुने पनि स्पष्ट पारे। गत भदौमा भएको जेन-जी आन्दोलन सुरुका दुई घण्टा मात्रै वास्तविक भएको र त्यसपछि विदेशी शक्तिले त्यसलाई कब्जामा लिएर सत्ता हत्याउने खेल खेलेको उनको आरोप थियो।

‘भदौ २३ र २४ गतेको आन्दोलन दुई घण्टामात्रै जेन-जीको थियो, त्यसपछि विदेशीको हातमा गयो र सत्ता हत्याउने खेल भयो। हाम्रो आन्दोलन त्यस्तो हुँदैन,’ उनले थपे।

Scroll to Top