
पत्रकारिताका प्राध्यापक एव्ं अनुसन्धाता भानुभक्त आचार्यले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारार्थ सिंगापुरतर्फ लागेको तस्बिर पोस्ट गर्दै देशभित्र गतिलो अस्पताल बनाउन नसकेकोमा ‘लाजमर्दाे’ भन्दै टिप्पणी गरेका छन् ।
हाल क्यानडामा प्राध्यापनरत आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्ः
शेरबहादुर देउवा पाँच पटक नेपालका प्रधानमन्त्री भए । जेनजी आन्दोलनमा सत्ता नबढारिएको भए उनकै पालो थियो फेरि प्रधानमन्त्री बन्ने । आरजु देउवा आइएनजिओबाट पैसाको खोलो बगाएर देश विकास गर्न लागिपरेकी सामाजिक अभियन्ता एवम् पछिल्लो समयकी शक्तिशाली परराष्ट्रमन्त्री ।
२०७२ को संविधान जारी भएपछि देश देउवा, प्रचण्ड र ओलीकै वरिपरि घुम्यो एक दशकसम्म । तर यिनीहरूले आफ्नो उपचार गर्न सक्ने गतिलो अस्पत्ताल बनाएनन् ।
१५३८ वर्ग किलोमिटरको डडेल्धुरा जिल्लाका ४४ वर्षदेखिका अनवरत जनप्रतिनिधिले अहिले ७३६ वर्ग किलोमिटरको फुच्चे देश सिंगापुर जानु परेको छ उपचार गर्न ।
ली क्वान यूले १९५९ देखि १९९० सम्म ३१ वर्षमा सिंगापुरको विकास गरे र अवकाश लिए तर देउवाले ४४ वर्ष निर्वाचित नेताको रूपमा बिताए र अझै पनि उनको उपचारको लागि देशभित्र योग्य अस्पतालहरू छैनन्। लाजमर्दो !







