जेन-जी आन्दोलनका दौरान प्रहरीलाई आक्रमण गरी हतियार लुट्ने गौतम घिसिङ पक्राउ

santan ads

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ छन्।

घिसिङले भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेका थिए। उनले बानेश्वर बृत्तबाट प्रहरीको एक थान एसएलआर राइफल लुटेर लगेको भिडियो र फोटो भाइरल भएको थियो ।

त्यसक्रममा उनले प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, बागमती खोलामा कुटपिट गर्ने र हतियार तथा गोलीगठ्ठा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा उनलाई आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार, घिसिङ यसअघि पनि २०७९ असोज ४ र फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुरका दुईवटा मुद्दामा फरार अभियुक्त रहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका घिसिङमाथि अनुसन्धान भइरहेको बताए ।

Scroll to Top