पोखरा विश्वविद्यालयले पहिलो पटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम (बिएआइडिएस) सुरु गरेको छ ।
सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौँ उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट उक्त विषयमा भर्ना खोलेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह प्रा बुद्धिराज जोशीले बजारको आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै एआई विषयमा अध्यापन गराउने निर्णय भएको जानकारी दिनुभयो ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा दीपाञ्जल श्रेष्ठले एआईका क्षेत्रमा बजारमा आवश्यकभन्दा न्यून जनशक्ति रहेको अवस्थामा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट यो कार्यक्रम सुरु गरेको बताउनुभयो ।
विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अबदेखि पोखरा विश्वविद्यालयले गर्ने भएको हो ।
कलेजले कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बिसिएसआइटी) र मानविकी सङ्कायमा कानुनको स्नातक (बिएआइएलबी) पनि सुरु गरेको छ ।
यी कार्यक्रममा प्रतिकोर्स चार लाख ३० हजार रुपैयाँदेखि चार लाख ९२ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको र २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइने विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा सुरेन्द्र तिवारीले बताउनुभयो ।
विश्वविद्यालयका उप प्रशासक सानु घलेका अनुसार विश्वविद्यालयमा पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी रहेका छन्