bangaladesh fire

बङ्गलादेश : कपडा कारखानामा आगलागी हुदाँ १६ जनाको मृत्यु

बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण थाहा नभएको बताएका छन।

कपडा कारखानाको भित्र १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखानाबाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए ।

यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।एजेन्सी

Scroll to Top