नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन-जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व लिएकी छन्, अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति निमल्सिनाले ।
तिमल्सिनाले सञ्चारमाध्यमहरुलाई जनाए अनुसार अहिलेसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिसकिएको छ भने बाँकी जिल्लामा तोक्ने काम तीव्र रूपमा अगाडि बढाइएको छ ।
माआेवादी केन्द्रभित्र व्यक्तिवादी प्रवृत्ति चरमरूपमा हाबी भएको तिमल्सिनाको भनार्इ छ । चाकरी गर्नेहरूलाई मात्रै अवसर दिएर पार्टी नै कब्जा गर्न खोज्नेहरूबाट जोगाउन आफूहरूले अभियान चलाएको उनले बताइन् ।
‘बरु पार्टी सकियोस्, तर पद छोड्न कोही पनि तयार भएनन् । बीसौं वर्षदेखि हाँके पनि अन्तिममा उनीहरू एमाले र कांग्रेसजस्ता बने,’ तिमल्सिनाले भनिन्, ‘यो बीचमा हामीले केही न केही गर्नै पर्ने थियो । पार्टीमा नेताको विरुद्ध कसैले केही बोलेमा राजनीति नै सकाइदेलान् कि भन्ने भय थियो । यही कारण हामीले रेड टास्क फोर्स गठन गरेका हौं ।’
टास्क फोर्सले दुई(चारवटा काम गर्ने तिमल्सिनाले बताइन् । एउटा, माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ जनतामाझ पुगेर चिर्ने । उनले भनिन्, ‘हजारौं निहत्था जनता त राज्यपक्षले दमन गर्दा मारिएका हुन् ।’
यो भाष्य चिर्न आइटी सेलले समेत काम गर्ने उनले बताइन् । दोस्रो, गाउँ गाउँमा रेड टास्क पोस्ट बनाएर जनताका कुरा सुन्ने । तेस्रो, पार्टीलाई पुनःसंरचनामा लैजाने । अब एक कार्यकाल अझैँ प्रचण्डलाई पार्टी चलाउन दिने र त्यसपछि शीर्ष नेतृत्वलाई बिदा गर्ने उनको भनाइ छ ।
चौथो, फागुन २१ को चुनावमा नभए त्यसपछिको चुनावमा बहुमत ल्याउनेगरी काम गर्ने । र पाँचौँ, चिनियाँ कम्युनिष्ट पार्टी जस्तै देशमा एक मात्रै कम्युनिस्ट पार्टी बनाउने ।
तिमल्सिनाले थप भनिन्, ‘पार्टी छाडेर जानुभएका नेता, कार्यकर्ताहरू जति पनि छन्, उहाँहरूलाई पुन घर फर्काउने अभियान पनि चलाउनेछौँ । पार्टी छाडेका पूर्व जनमुक्ति सेनासहित पूर्वशहीद परिवारलाई पुनः पार्टीभित्रै समेट्नेछौँ ।’