एजेन्सी । इजराइलले दुई वर्षदेखि लगातार गरेको आक्रमणका कारण गाजामा ६ वर्षमुनिका करिब ५५ हजार बालबालिका चरम कुपोषणको शिकार भएको अनुमान गरिएको छ।
इजराइल र हमासबीच युद्धविराम सम्झौता भएको केही घन्टाअघि द लान्सेट जर्नलले बुधबार यो खुलासा गरेको हो। प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए) को नेतृत्वमा गरिएको सो अध्ययनले दुई वर्ष लामो द्वन्द्वमा लगभग हरेक महिनाको विवरण प्रस्तुत गरेको छ। इजराइलले गाजामा पर्याप्त खाद्यान्न पठाउन दिएको भन्दै त्यहाँ व्याप्त भोकमरीको दोष बारम्बार अस्वीकार गर्दै आएको छ।
गाजामा पठाइएको खाद्यान्न हमासले चोर्ने गरेको आरोप पनि इजराइलले लगाउँदै आएको छ। तर द लान्सेटमा प्रकाशित सो अध्ययनले इजराइलले गजामा खाद्यान्न आपूर्तिमा लगाएको रोक र बालबालिकामा देखिएको कुपोषणको स्तरबीच स्पष्ट सम्बन्ध रहेको निष्कर्ष निकालेको द गार्डियन ले लेखेको छ।
शोधकर्ताहरूले जनवरी २०२४ देखि गाजामा रहेका छ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई लाख २० हजार बालबालिकाको पाखुराको गोलाइ नापेर कुपोषण मापन गरेका थिए।
इजराइल र हमासबीच युद्धविराम सम्झौता भएपछि गाजाका बालबालिकाको स्थितिमा सुधार आउने अपेक्षा गरिएको छ।इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै इजराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन्।
गाजामा दुई वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव राखेर युद्धविरामको पहल गरेका थिए। अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने सम्भावना छ। सहमति अनुसार ७२ घण्टाभित्र सबै बन्धकहरू हमासले छाड्नुपर्नेछ। अक्टोबर ७, २०२३ मा बन्धक बनाएर गाजा पुर्याइएका २५१ जनामध्ये अझै नेपाली विपिन जोशीसहित ४८ जना बन्धकहरू हमासकै नियन्त्रणमा छन्। तीमध्ये २० जना जीवित रहेको अनुमान छ।