गुप्तचर एजेन्सी सायब्राको दाबीः जेनजी आन्दोलनमा हिंसा भड्काउन नक्कली एकाउन्टको प्रयोग

santan ads

गत भदौ २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत सामाजिक सञ्जाल खाता नक्कली रहेको एउटा नयाँ अनुसन्धानले देखाएको छ।

इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको सो अनुसन्धानले अनलाइन संवादहरू नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रोफाइलहरूबाट फैलाइएको निष्कर्ष निकालेको छ।

सायाब्राको अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा भएको जेन-जी आन्दोलनमा वास्तविक प्रयोगकर्ताहरूसँग नक्कली प्रोफाइलहरू मिसिएर यसलाई अतिवादी बनाइएको थियो। ‘जेन-जी प्रोटेस्ट’ र ‘वेकअप नेपाल’जस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ।

सायाब्राले खुलासा गरेअनुसार भदौ २३ र २४ गतेका प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाताधारक रहेको पाइएको थियो।

सामाजिक सञ्जालको सत्यता र अनलाइन भ्रामक सूचनाको विश्लेषणमा विशेषज्ञता राख्ने सायाब्राले नक्कली प्रोफाइलहरू वास्तविक प्रयोगकर्ताहरूसँग यति सहज ढंगले घुलमिल भएका थिए कि सक्कली र हेरफेर गरिएको गतिविधिलाई छुट्याउनै गाह्रो भएको बताएको छ।

कम्पनीको अनुसन्धानले नक्कली खाताहरूले हिंसात्मक बयानलाई बढावा दिएर युवा नेतृत्वको प्रदर्शनसम्बन्धी वास्तविक अनलाइन छलफललाई बिगारेको देखाएको छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी नक्कली खाता, समन्वित असक्कल व्यवहार र भ्रामक अभियान पत्ता लगाउने सायाब्राको विश्लेषणअनुसार अधिकांश सहभागी सुधारको माग गर्ने वास्तविक आवाज भए पनि प्रदर्शनसम्बन्धी छलफलमा संलग्न हरेक तीन खातामध्ये एक नक्कली थियो ।

त्यस्ता खाताहरूले चरम र टकरावपूर्ण सामग्रीलाई एक्स (पूर्वट्विटर), मेटा (फेसबुक), टिकटकजस्ता प्लेटफर्ममा फैलाए।

सामाजिक सञ्जालमा तीन नेपोकिडु ह्यासट्यागबाट सुरु भएको यो प्रदर्शन राजनीतिक नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध लक्षित थियो। यसै कारण भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनको आह्वान गरिएको थियो।

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ वटा सामाजिक सञ्जाल एपमाथि अचानक प्रतिबन्ध लगाएपछि प्रदर्शनमा अप्रत्याशितरूपमा ठूलो भीड जम्मा भयो।

हजारौं वास्तविक युवा प्रयोगकर्ताले भ्रष्टाचारको अन्त्य र थप जवाफदेहिताको माग गर्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेका थिए। तर, सायाब्राको दाबीअनुसार समन्वित नक्कली खाताले बनाएको गलत बयान विश्वभर ३२ करोडभन्दा धेरै सम्भावित दर्शकसम्म पुगेको थियो।

प्रदर्शनको आह्वानपछि भएको व्यापक प्रदर्शनमा ७५ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए। हिंसा भड्किएपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए।

सायाब्राको अध्ययनले समन्वित नक्कली खाताहरूले कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित भिजुअल प्रयोग गरेको, ‘जेन-जी प्रोटेस्ट’ र ‘वेकअप नेपाल’जस्ता ह्यासट्यागहरूलाई ‘हाइज्याक’ गरेको र वास्तविक प्रोफाइलहरूसँग अन्तरक्रिया गरेर आफ्नो गतिविधिलाई वैध देखाउन खोजेको पत्ता लगाएको छ।

Scroll to Top