कास्की प्रहरीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि र होहल्ला गर्ने गरेको आरोपमा १९ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
भदौ १३ गते दिउँसो २ बजेको समयमा खाजाघरहरूमा होहल्ला भइरहेको र अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमाकास्की प्रहरीले छापा मारेर १९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बाग्लुङ बसपार्क क्षेत्रका खाजाघरहरूमा लागु औषध सेवनकर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने र सो क्षेत्रमा अशान्ति फैलाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका ३७ वर्षीय प्रकाश गुरुङ छन् । उनी कुमारी खाजाघरका सञ्चालक हुन् । यस्तै, माछापुच्छ्रे गाउँपालिका–५ घर भई पोखरा–२ मा बिमला मगर एन्ड खाजाघर चलाउने ३३ वर्षीया बिमला मगर पनि पक्राउ परेकी छन् ।
म्याग्दी घर भई पोखरा–२ मा सफल सचिन खाजाघर चलाउने २४ वर्षीया मनदेवी घर्तीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मादी गाउँपालिका–४ की २३ वर्षीया बेल कुमारी रानाभाट पक्राउ परेकी छन् । उनी बेल कुमारी एन्ड खाजाघर चलाउँथिन् । मादी गाउँपालिका–११ की ४० वर्षीया मिना कुमारी गुरुङ पनि पक्राउ परेकी छन् । उनले सिमा सुकुटी हाउस चलाउँथिन् ।
पर्वत, कुश्मा नगरपालिका–५ की ३५ वर्षीया सरिता परियार पक्राउ परेकी छन् । उनी सरिता खाजाघर चलाउँथिन् । यस्तै, म्याग्दी, मराङ गाउँपालिका–२ की ३५ वर्षीया मिना सिर्पाली पनि प्रहरीको फन्दामा परेकी छन् । उनले मिना खाजाघर चलाउँथिन् ।
काभ्रेपलाञ्चोककी ५० वर्षीया निरु तामाङ पक्राउ परेकी छन् । उनले नाम नभएको खाजाघर चलाउँथिन् । अन्नपूर्ण गाउँपालिका–१० की ४२ वर्षीया राधिका नेपाली पनि पक्राउ परेकी छन् । उनी मनिसा खाजाघर चलाउँथिन् ।
मादी गाउँपालिका–९ की ४० वर्षीया टिका माया तामाङ पक्राउ परेकी छन् । उनले सृष्टि खाजाघर चलाउँथिन् । पोखरा–२ की २८ वर्षीया विष्णु किसान पनि पक्राउ परेकी छन् । उनी जेनिसा रेस्टुरेन्ट चलाउँथिन् ।
तस्बिरः अनटोल्डसाइड