ट्राफिक प्रहरी कार्यालय कास्कीका निरीक्षक शोभा पाण्डेले दुर्घटना न्युनिकरणका लागि सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी रहेको सुनाउँदै जिल्लाको सडक अवस्था र दुर्घटना न्युनिकरणका लागि ट्राफिकले खेलेको भुमिकाको बारे स्पष्ट पारिन् ।
कास्कीका कुनै पनि क्षेत्रमा दुर्घटना भइ उद्धारका लागि ‘क्विक रेस्पोन्स’ टिम परिचालन भइरहेको सो अन्तरक्रियामा जानकारी दिइन् ।
पाण्डेले दुर्घटना न्युनिकरणका लागि आफुहरुले सचेतनामुलक प्रचारप्रसार गरिरहेको बताउँदै पोखराको ६ ठाउँमा ट्राफिक लाइट जडान गरिएकोमा २ ठाउँमा सञ्चालनमा आएको सुनाइन् ।
ट्राफिक लाइट सञ्चालन भएको ठाउँमा सडक दुर्घटना केही न्युन भएको उनको भनाइ छ ।
दुर्घटना न्युनिकरणका लागी पोखरा महानगरपालिकाले पनि चासो राख्नु पर्ने अन्तरक्रियामा सहभागीहरुको जोड थियो ।
महानगरपालिकाले दुर्घटना न्युनिकरणका लागी कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने, उपयुक्त पार्किङ र बसपार्क व्यवस्थापन र बसपार्कमै टिकट काउन्टरको व्यवस्था गर्नुपर्ने, सीसीटिभी क्यामेरा पर्याप्त मात्रामा जडान गर्नुपर्ने पृथ्वी बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।
यस्तै यातायात व्यवसायीले सवारी चालकहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रशिक्षण प्रदान गर्नुपर्ने, सवारी साधनको यान्त्रिक परीक्षण,मर्मत सम्भार गर्नुपर्ने, लामो दुरीको यात्रामा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव थियो ।
यसो गर्दा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने प्रहरीको भनाइ छ ।
दुर्घटना न्युनिकरणका लागी हाइवे व्यवस्थापनलाई प्राथमिकतामा राखेको सडक डिभिजन पोखराका इन्जिनियर पुजन श्रेष्ठले बताए ।बजार क्षेत्र भित्र हुने सवारी दुर्घटनालाई कम गर्नका लागि महानगरले ध्यान दिनुपर्ने उनको भनाई छ ।