पोखरा । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला तिज गीत प्रतियोगिताको उपाधि देविस्थान महिला समूह पोखरा २५ ले जितेको छ ।
देविस्थानले उपाधिसँगै ४० हजार नगद र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा पोखरा नर्सिङ क्याम्पस विद्यार्थी समूह दोस्रो, कमलज्योति आमा समूह तेस्रो तथा अमरसिंह सांस्कृतिक समूह र अमरसिंह दृष्टिविहीन समूह सान्त्वना भएका छन् ।
दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।
उत्कृष्ट नृत्य जिमिरेटोल प्रगतिशील आमा समूह र भेषभुषामा क्षेत्री दिदी बहिनी समूह छनोट भएका छन् ।
दुवैलाई ७ हजार ५ सयका दरले पुरस्कार दिइएको छ । प्रतियोगितामा २२ टीमको सहभागिता थियो ।
कार्यक्रमलाई शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले संस्कार र संस्कृति संरक्षणमा यस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताए ।
संस्कृतिको पहिचान र सृजनशीलताको सम्मान गर्न कार्यक्रम राखिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
आदर्श समाज सामाजिक संस्थाको व्यवस्थापनमा भएको हो ।
संस्थाकी अध्यक्ष इन्दिरा भण्डारीले लोक परम्पराको संरक्षणका लागि वडाले गरेको प्रयास प्रभावकारी भएको बताइन् ।