सुटकेश भित्रको शव रुबिकुमारीको, घाँटी कसेर हत्याको आशंका

santan ads

एजेन्सीः रौतहटको गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालाबा मोड नजिकै सुटकेशभित्र फेला परेको शवको सनाखत भएको छ ।

शव माधव नारायण नगरपालिका–२, महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति करिब ९ बजे स्थानीयले शंकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरक्षाको कारण देखाउँदै प्रहरीले राति नै सुटकेश नखोली आइतबार बिहान मात्र सेनाको बम डिस्पोजल टोलीको सहयोगमा सुटकेश खोलेको थियो ।

सुटकेशभित्र रुवीकुमारीको शव फेला परेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनको घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ । शवलाई कोचिएर सुटकेशभित्र राखिएको पाइएको हो ।

रुवीको विवाह भारतको मुजफ्फरपुरमा भएको भए पनि पछिल्लो समय उनी माइतीघरमै बस्दै आएकी थिइन् । उनको पतिसँगको सम्बन्धबारे खुलिसकेको छैन ।

हाल प्रहरीले मृतकका आफन्तहरूसँग सोधपुछ गरिरहेको छ भने शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Scroll to Top