हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल, गण्डकी क्षेत्रले पोखरामा आयोजना गरेको ‘तीज फेलोशिप कार्यक्रम’ मा लोकप्रिय लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरेको छ।
नेपाली मौलिक संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै तीज पर्वको अवसरमा कोइरालालाई सम्मान गरिएको हो।
सम्मानित व्यक्तित्व कोइरालाले तीजको मौलिकता, संस्कृतिको निरन्तरता र महिलाको सशक्तीकरणमा गीत संगीतको भूमिकाको चर्चा गरिन्। उनले मौलिक संस्कृति बचाउन लायन्स जस्ता सामाजिक संघ संस्थाको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखिन्।
कार्यक्रमका प्रमुख अतिथि मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले तीजलाई केवल मनोरंजनमा मात्र सीमित नगरी सामाजिक एकता, लैंगिक समानता र सशक्तीकरणको रूपमा विकास गर्दै सामाजिक सद्भाव सहित मनाउन पर्नेमा जोड दिइन्।
उनले लायन्सले सेवा भावसंगै मौलिक परम्परा, संस्कृति संरक्षण र प्रवर्धनमा योगदान दिँदै आएको बताइन्। सो अवसरमा लायन्स अन्तर्राष्ट्रिय जिल्ला गभर्नर लायन मिलन बाबु मल्लले लायन्स क्लबले समाजसेवा र सांस्कृतिक सहभागितामा जोड दिएको बताए।