अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाकी तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ की सदस्य भावना श्रेष्ठसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बाटोको निकाससम्बन्धी विवादमा आफ्नो पक्षमा फैसला गराउन २ लाख रुपैयाँ घुस लिएको आरोपमा श्रेष्ठ र घुस दिने निवेदक रविनकुमार श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, न्यायिक समितिमा विचाराधीन रहेको बाटो विवादको मुद्दामा निवेदक रविनकुमारले आफ्नो पक्षमा निर्णय गराउन सदस्य श्रेष्ठलाई २ लाख रुपैयाँ घुस दिएको भन्ने उजुरी आयोगमा परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दा पोखरा महानगरपालिका वडा नम्बर २६ को बाटो निकाससम्बन्धी विवादमा निवेदक रविनले श्रेष्ठलाई घुस दिएको पुष्टि भएको अख्तियारको ठहर छ ।
आयोगले दुवै जनाविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ । अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।