बिरौटाबाट रिना र मिनासहित पक्राउ परे विश्वास गुरुङ

santan ads

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको बिरौटा घारीकुलो बस्ने ३२ वर्षीया रिना थापा मगर, स्याङ्जाकै फेदीखोला गाउँपालिका–४ घर भई हाल बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत घर भई हाल बिरौटा बस्ने ३९ वर्षीया मिना थापा मल्ल पक्राउ गरेको छ ।

जिप्रका र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले बिरौटाबाट उनीहरुलाई ५०१ एम्पुल लागुऔषध र तीन थान मोबाइलसहित मंगलबार साँझ पक्राउ गरेको हो ।

बिरौटा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरोको पोखरा शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब पौने ८ बजे उनीहरु बस्ने कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको कोठाबाट डाइजापाम १६६ एम्पुल, फेनेरागन १६९ एम्पुल र नुर्फिन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागूऔषध बरामद भएको हो । प्रहरीले उनीहरुको साथबाट कारोबारमा प्रयोग भएको आशंकामा तीन थान मोबाइल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरु र लागुऔषधको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Scroll to Top