पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हालसम्म १८ जनाको निशूल्क मृगौला प्रत्यारोपण गरिएको छ ।
करिब साढे २ वर्षको अन्तरालमा साढे २ दर्जन बिरामीलाई मृगौला प्रत्यारोपण गरिएको र सबैले स्वस्थ जीवन बिताइरहेको अस्पतालले जनाएको छ ।
यसैबीच, गत ९ गते पश्चिमाञ्चलले ५३ वर्षीय पुरुषमा मृगौला प्रत्यारोपण गरेको छ । उनलाई दिदिले मृगौला दिएको अस्पताल प्रशासनले नयाँलिपिलाई बताएको छ ।
यूरोसर्जन प्रकाश क्षेत्रीको नेतृत्वमा भएको प्रत्यारोपणमा यूरोसर्जन अनुप चापागाइँ र जनरल सर्जनद्वय सन्तोष श्रेष्ठ र डेभिड श्रेष्ठ रहेका थिए ।
त्यस्तै, उक्त टिममा नेफ्रोतर्फ डा. विकास खत्री र डा. जुजु श्रेष्ठ एवं नर्ससहित डेढ दर्जन संलग्न रहेको सर्जन डेभिड श्रेष्ठले जानकारी दिए ।
सर्जन डेभिडका अनुसार अस्पतालमा मृगौला प्रत्यारोपण पूर्णत निशूल्क हो । ‘अस्पतालमा विपन्न राहत कोषमार्फत प्रत्यारोपण निशूल्क हो, अठारै जनाले पैसा तिर्नु परेन’ डेभिडले सुनाए ।
साढे २ वर्ष अघि शहिद धर्मभक्त मृगौला प्रत्यारोपण केन्द, भक्तपुरको सहयोगमा पहिलो प्रत्यारोपण गरेको अस्पतालले त्यसपछि आफ्नै सर्जनमार्फत सेवा दिइरहेको छ ।
मृगौला प्रत्यारोपण पोखराकै सरकारी अस्पतालमा निशूल्क भइरहेपनि अधिकांश बेखबर छन् । ‘किन प्रचार भएन ?’ डा. डेभिड भन्छन् ‘आजसम्म आवश्यक प्रचार नभएकै हो कि तर अब यसबारे अस्पताल प्रशासनले ध्यान दिनेछ ।’