गण्डकी आइपुग्यो ५ हजार एन्टी रेबिजको भ्याक्सिन, निशूल्क उपलब्ध गराउन अस्पताललाई निर्देशन

santan ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी पठाएको छ ।

विभागद्वारा पठाइएको भ्याक्सिनलगायत सामग्री प्रादेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, पोखरामा आइपुगेको छ । केन्द्रका सूचना अधिकारी ऋषिराम सुवेदीले आइतबार भ्याक्सिन आइपुगेको बताउँदै सम्बन्धित जिल्लामा वितरण गर्न फोकलपर्सनको जिम्मा लगाइएको जानकारी दिए ।

केन्द्रका फोकलपर्सन हिमलाल सुवेदीले गण्डकी प्रदेशलाई ४ हजार ९२० भायल भ्याक्सिन र सर्पदंशको औषधि आएको बताउँदै सम्बन्धित जिल्लामा पठाउने काम भइरहेको बताए ।

‘उक्त परिणामको एन्टी रेबिज भ्याक्सिनमध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ३ सय ६० भायल पठाइएको छ’ फोकलपर्सन सुवेदी भन्छन् ‘पोखरामा संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल’, मातृशिशु र कृस्तीको प्राथमिक स्वास्थ्य केन्द्रमासमेत भ्याक्सिन पठाइसकिएको छ ।’

प्रदेशभित्र हालसम्म मनाङ र लमजुङमा भ्याक्सिन पठाउन बाँकी रहेको उनको भनाई छ । ‘मनाङका प्रतिनिधि आइसक्नुभएको छ, लमजुङमा भने केही दिनमा आफै लगिदिने छौं’ सुवेदीले सुनाए ।

एन्टी रेविजको भ्याक्सिन प्रदेशभित्रका सबै सरकारी अस्पतालमा उपलब्ध हुने र पूर्णतः निशूल्क हुने केन्द्रले जनाएको छ ।

यद्यपि, केही अस्पतालले सिरिञ्ज र सेवाको नाममा केही शूल्क लिने गरेको पाइएको सुवेदीले जनाए । ‘हामीले एन्टी रेबिज र सर्पदंशको औषधि निशूल्क उपलब्ध गराउन सम्पूण अस्पताललाई निर्देशन दिइसकेका छौं’ सुवेदीले नयाँलिपिलाई बताएका छन् ।

त्यस्तै, केन्द्रले सर्पदंशको औषधिसमेत वितरण गरेको छ । उक्त औषधिको ठूलो मात्रा नवलपरासी र केही मात्रा स्याङ्जा पठाइएको छ ।

गण्डकीमा सर्पको डसाईबाट प्रभावित जिल्ला नवलपरासी भएको र हाल स्याङजाको चापाकोटमा करेत सर्प देखिएकाले त्यहाँ पनि औषधि पठाइएको हो ।

पोखरामा भने अघिल्लो वर्ष करिब ४ जना सर्पको टोकाईबाट प्रभावित भएको पाइएको छ । जसमध्ये २ जनाले मणिपाल शिक्षण अस्पतालमा उपचार गराएका थिए ।

Scroll to Top