दिपक के श्रेष्ठः
केही दिन अघि सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको भण्डास बिप्पर कटेरीबाट उर्मिला हायुको १६ जना परिवार सम्पर्कविहीन भएको समाचारपछि हायु जाति चर्चामा छ ।
हायु कस्तो जाति र समुदाय हो ? भन्ने कौतुहलताको विषय बनेको छ ।
यद्यपि, सम्पर्कविहीन भनिएको उक्त हायू परिवारका सबै सदस्य पोखराको गगनगौंडामा फेला परिसकेका छन् ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालभरिमा हायु जातिको संख्या २ हजार ९ सय २५ जना रहेको छ । जसमध्ये हायु भाषा बोल्नेको संख्या १ हजार ५ सय २० रहेको छ ।
हायु किराँत समुदाय भित्र पर्दछ । हायुहरुको सबभन्दा ठुलो र शक्तिशाली देवी ईश्वरीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो ।
जुन देवीको थान रामेछाप नगरपालीका वडा नं. ७ मुडाजोरको पालीगाउँस्थित पर्दछ । रामेछाप नगरपालिका वडा नं ७ र ८ मा हायुहरूको बाक्लो बस्ती रहेको छ ।
यो देवीको थान विशाल रुख काभ्राको फेदमा रहेको छ । जसलाई अरु समुदायले महाकाली देवी भनि नामाकण गरेका छन् ।
हरेक वर्ष फागु पुर्णिमाको दिन देखी १० दिनसम्म पुजा हुन्छ र हरेक वर्ष श्री स्वस्थानी पुर्णिमाको दिन देखी १० दिनसम्म पुजा हुन्छ ।
जसलाई हायुहरु आफ्नो मुख्य चाड दशैँको रुपमा मनाउने गर्दछन् । पुजा अनुष्ठान गर्ने बेलामा सबै जिल्लाबाट हायुहरु भेला हुने गर्दछ ।
यो जाती जनकपुर अंचलको सिन्धुली, रामेछाप जिल्लाहरू सुनकोशी नदीको आशपास क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख आदिवासी जाति हो ।

यिनिहरूको पुर्खेउली उखान अनुसार सुरेल, सुनुवार, राई, लिम्बू र हायू एउटै परिवारबाट निः स्रुत भएका छ्न् यसरी ५ भाईमध्ये कान्छोको सन्तान हायू हो ।
हायू जातिले दोम्की-ढोल, ज्याम्की-झ्याम्टा, घण्टा आदि लोकबाजाहरू प्रयोग गर्दछन्।
रामेछाप बजारबाट झन्डै एक घण्टाको दुरीमा लोपोन्मुख हायुहरूको गाउँ छ । सो गाउँका हायुहरूको आम्दानीको मुख्य श्रोत कृषि नै हो । बिहान , बेलुकाको जोहो यसैबाट हुन्छ ।
करिब २५ जनाले मात्र एसइई परीक्षा उत्तीर्ण गरेको यो समुदाय नेपालको लोपोन्मुख जातिको सूचिमा छ । यो गाउँबाट थोरैले मात्र स्नातक उत्तीर्ण गरेका छन् ।
सिन्धुलीमा छिटपुट मात्र भेटिने हायुको अधिकांश सङ्ख्या रामेछापमा रहेको छ ।
सरकारले नै लोपोन्मुख भनेर उनीहरूको लागि जन्मने बित्तिकै मासिक ४ हजार भत्ता उपलब्ध गराउँदै आएको छ ।
उदयपुरमा ‘हायु’
रामेछाप उद्गमस्थल र सिन्धुलीमा भेटिएको हायुहरु पूर्वको उदयपुरमा पनि बसोबास गरेको पाइएको छ ।
उदयपुर बसोबास गर्ने हायु जाति भाषा, धर्म, संस्कार, संस्कृतिको खोजीमा छन्। उदयपुरको कटारी नगरपालिका-११ स्थित सिरवानीमा पाँच घर हायु जाति छन्।
टिन र खरको छानो भएका घर छन्। त्यही घर नजिकै गाईभैँसी पाल्दै कृषि पेसामा आवद्ध छन्।
राजनीतिमा समेत सक्रिय पाइएका अन्नत हायु नेकपा एमाले उदयपुरका जिल्ला कमिटी सदस्य हुन् । उनका अनुसार हायुको भाषा, धर्म, संस्कार, संस्कृति नै हराउँदै गएको छ ।

‘नेपालका हामी छुट्टै धर्म, संस्कार, संस्कृति र परंपरा भएका जाति हौँ’, उनले भनेका छन्, ‘हाम्रो संख्या देशमै थोरै भएकाले सबै कुरा हराउँदै गयो।’
कटारीका पाँच घरमा ४९ जना र त्रियुगा नगरपालिकाको एक घरमा १० गरी जम्मा ५९ जना हायु यहाँ रहेको तथ्यांक छ ।
छरिएर बस्दा संकटमा हायु
मंगोल महावंशको किरात समुदायअन्तर्गत पर्ने हायु जाति उदयपुर, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, सर्लाही र रामेछाप जिल्लामा छरिएर बसेको हायु एकता समाजले जनाएको छ ।

भेषभूषा, भाषा, संस्कार र संस्कृतिको प्रयोग हुन नसक्दा हायु जातिको अस्तित्व संकटमा परेको देखिन्छ। समाजका अनुसार किरात धर्मअनुसारको संस्कार संस्कृति नै हायु जातिको हो।
किरात, लिम्बू, सुनुवारको कान्छो भाइ जाति हायु भएको दाबी गर्ने उनीहरु कतै ‘हायुले राई’ त कतै ‘हायु मगर’ भनेर नागरिकतामा लेखाउँदै आएको पाइएको छ ।
छोरा या छोरीको विवाह आफ्नै समुदायको फरक गोत्रमा गराउने रितअनुसार हायुहरु जुन जिल्लामा रहेका छन् त्यहाँबाट अर्काे जिल्ला माग्न जानुपर्ने बाध्यता रहेको छ ।
विवाह गर्नै सकस भएकाले पनि हायु समुदायको जनसंख्या वृद्धि हुन नसकेको अनुमान छ ।
हायु जातिबारे तयार पारिएको लेख /समाचारमा विभिन्न अर्काइभको अध्ययन र सन्दर्भको पुनःप्रयोग गरिएको छ । –सम्वाददाता