बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा भुटानमाथि नेपाल हावी भएको छ ।
ढाकास्थित बसुन्धरा किंग्स एरिनामा आज (शनिबार)भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।
एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।
यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो ।

नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ ।
नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ ।
च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।