डा. अनिलको चेतावनीः हामीले खाएको खाना ‘स्लो प्वाइजन’ हुन सक्छन्

santan ads

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हामीले दैनिकरूपमा खाने गरेका केही सामान्य खानेकुराहरूले स्वास्थ्यमा ‘स्लो प्वाइजन’ (मन्द विष)को काम गरिरहेको चेतावनी दिएका छन् ।

आफ्नो युट्युब पोडकास्टमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले मैदा, चिनी र अत्यधिक प्रशोधित चिल्लो पदार्थबाट बनेका खानेकुराहरू त्यागेर स्वस्थ विकल्प रोज्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

डा. अनिलका अनुसार, धेरै मानिसहरूले अज्ञानता वा सहजताका कारण यस्ता हानिकारक खानेकुराहरूलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएका छन्, जसले दीर्घकालीन रूपमा मुटु रोग, मधुमेह, मोटोपना र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ।

उनले औंल्याएका प्रमुख हानिकारक खानेकुरा र तिनका स्वस्थ विकल्पहरू यसप्रकार छन्ः

बिस्कुट, पाउरोटी र कुकिजः दिनको सुरुवातमा चियासँग खाइने यी खानेकुरा मैदा र चिनीबाट बनेका हुनाले स्वास्थ्यका लागि हानिकारक छन्। यसको सट्टा घरमै बनाएको रोटी, जाउलो वा अंकुरित अनाज खानु उत्तम हुन्छ।

तयारी चाउचाउ, दालमोठ र चिप्सः बालबालिकादेखि वयस्कसम्मले खाजाको रूपमा खाने यस्ता प्याकेटका खानेकुराहरूमा अत्यधिक नुन, अस्वस्थकर चिल्लो (ट्रान्स फ्याट) र हानिकारक रसायनहरू हुन्छन्।

कर्नफ्लेक्स र प्याकेटका ओट्सः आकर्षक विज्ञापनका कारण स्वस्थ मानिने यी खानेकुराहरू पनि अत्यधिक प्रशोधित हुन्छन्, जसले गर्दा तिनको पौष्टिक तत्व नष्ट भइसकेको हुन्छ। यसको साटो प्रशोधन नगरिएको सादा ओट्स वा घरकै परिकार खानु राम्रो हुन्छ।

कोल्ड ड्रिंक्स, बोतलका जुस र एनर्जी ड्रिंक्सः यी पेय पदार्थहरूमा चिनीको मात्रा अत्यधिक हुन्छ, जसले मोटोपना र मधुमेहको जोखिम बढाउँछ। यसको विकल्पमा सादा पानी वा ताजा फलफूलको रस (चिनी बिना) पिउन सकिन्छ।

फ्राईड चिकेन र फास्ट फुडः बजारमा पाइने तारेका र भुटेका मासुजन्य परिकार ९फ्राईड चिकेन, बर्गर, पिज्जा० बनाउन बनस्पति घिउ र पाम आयल जस्ता मुटुलाई असर गर्ने तेल प्रयोग गरिन्छ, जुन अत्यन्तै हानिकारक छ।

चकलेट, क्यान्डी र आइसक्रिमः यी गुलिया परिकारहरूमा चिनी र अस्वस्थकर फ्याटको मात्रा बढी हुन्छ। खानै मन लागेमा कोकोको मात्रा बढी भएको डार्क चकलेट थोरै मात्रामा खान सकिन्छ।

बजारको अचार र केचपः लामो समय टिकाउनका लागि बजारमा पाइने डब्बाको अचार, सस र केचपमा प्रिजरभेटिभ र अधिक नुन हालिएको हुन्छ। घरमै बनाइएको ताजा अचार वा सस सुरक्षित विकल्प हो।

डा. अनिलले बजारमा पाइने तयारी खानेकुराको साटो घरमै बनाइएको ताजा र प्राकृतिक खानालाई प्राथमिकता दिन जोड दिएका छन् ।

‘कुनै पनि खानेकुरा किन हानिकारक छ भन्ने ज्ञान राखेर सचेत छनोट गर्न सकियो भने धेरै नसर्ने रोगहरूबाट बच्न सकिन्छ’ उनले भनेका छन् ।

Scroll to Top