पोखराको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालले हालै Awake Craniotony प्रयोग गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
प्राडा यम रोकाले बिरामीलाई बेहोश नगराई ट्युमरको शल्यक्रिया गरेका हुन् । यसअघि अन्य अस्पतालमा बिरामीलाई एनेस्थेसियाको पुरा बेहोश नगरी शल्यक्रिया गरेपनि जिएमसीमा भने पहिलोपटक गरिएको सर्जन रोकाले जानकारी दिए ।
‘करिब ३ घण्टाको समयमा शल्यक्रिया सफल भएको छ’ प्राडा रोका भन्छन् ‘एनेस्थेसियाबिना शल्यक्रिया गरिने प्रयास नौलो होइन, तर जीएमसीमा भने पहिलो हो ।’ सम्भवतः गण्डकी प्रदेशमै पहिलो शल्यक्रिया भएको उनको ठहर छ ।
सर्जरीमार्फत लगभग ६ सेमी लम्बाईको ट्युमर निकालिएको छ । बायोप्सीपछि ट्युमरको प्रकृति थाहा हुने उनले उल्लेख गरे ।
प्राडा रोकाको टिममा सर्जन विपिन बजगाइँ, एनेस्थियातर्फ डा.आशिष र नर्सहरु रहेका थिए ।
शल्यक्रिया गर्दा ‘क्रेनियोटोमी’ पद्दति अपनाइएको र आधुनिक चिकित्सामा ब्रेन ट्युमरको सर्जरी गर्न यही पद्दति अपनाइने रोका बताउँछन् ।
क्रेनियोटोमी मुलतः सर्जिकलका दौरान बिरामीको टाउकोको निश्चित भाग (बोन फ्लाप)लाई निकाली मष्तिस्कसम्म पहुँच पु¥याई शल्यक्रिया सहज बनाउने विधि हो ।
ब्रेन ट्युमरको सर्जरीमा बिरामीलाई साइड इफेक्ट हुन नदिने र रक्त कोशिकामासमेत क्षति हुन नदिन क्रेनियोटोमी पद्दति अपनाइने उनले बताए ।
सर्जरीकालागि निकालिएको बोन फ्लापलाई पुनः सोही स्थानमा राखिन्छ । यस पुरै अवधिमा बिरामी पूर्णतयः होशमै रहन्छन् ।
क्रेनियोटोमीका दौरान एमआरआइमा गरिने ट्रयाक्टोग्राफीले सर्जनलाई सहज बनाउने उनले बताए । ट्रयाक्टोग्राफीले ट्युमर रहेको र आसपासमा भएको रक्तनली एवं कोशिकाहरुको स्थानबारे जानकारी दिएको हुन्छ ।
अर्थात्, ट्रयाक्टोग्राफीले सर्जरी गरिने भागमा रहेको नशा एवं कोशिकाहरुको ‘ट्रेसिङ्’ गरिदिन्छ । जसले सर्जनलाई उक्त नशाको रुट र असर पार्नसक्ने अंगबारे बुझ्न सघाउँछ ।
ट्युमरबारे जानकारी दिँदै यो शरिरको कुनैपनि अंगमा आउनसक्ने जानकारी दिँदै रोकाले आनीबानी र जीवनशैलीलाई सन्तुलित राख्न आवश्यक रहेको जानकारी दिए ।
मदिरा र सुर्तिजन्य पदार्थको सेवन, चर्काे घाममा काम गर्ने दैनिकीले शरिरमा ट्युमर हुनसक्छ । त्यस्तै, शरिरभित्रकै बनावट पनि ट्युमरको कारण बन्न सक्ने उनको भनाई छ ।
ट्युमरको ग्रेड अनुसार यसको असर पर्छ । हाइ ग्रेडको भए ५–६ महिनामा बिरामीको ज्यान जाने सम्भावना रहन्छ भने लो ग्रेडको ट्युमरले ३–४ वर्षपछि बिरामीको मृत्यु हुनसक्छ ।
यद्यपि, ट्युमरको उपचार जीएमसीमा हुने भएपछि बिरामीको समय र पैसा बचत हुनेमात्र नभई स्वास्थोपचारसमेत सहज भएको डा. रोका बताउँछन् ।
डाक्टर र जीएमसीलाई धन्यवादः –‘बेड नं. १६’
जीएमसीको न्यूरोसर्जरी वार्डको बेड नम्बर १६ मा भेटिए एक बिरामी । जो मन्द मुस्कानकासाथ बेडमा आराम गरिरहेका थिए ।
उनको मुहारमा सन्तुष्टी छाएको झलक देख्न सकिन्थ्यो । टाउकोको भाग ब्यान्डेजले ढाकिएका उनी अन्य विरामीको गतिविधि नियालीरहेको जस्तो देखिन्थ्यो ।
बेडको पुछारमा राखिएको इन्फोबोर्डमा उनको नाम रमण (नाम परिवर्तित) र उमेर ६९ वर्ष लेखिएको थियो । पछि थाहा भयो, उनै रहेछन् पोखरा निवासी ब्रेन ट्युमरका बिरामी । जसको हालै डा. रोकाले एनेस्थेसियाको प्रयोगबिनै सर्जरी गरेका थिए ।
‘हामीसँग छोटो कुराकानी गर्न सक्नुहुन्छ ?’ उनको जवाफ थियो ‘छोटो किन ? लामै गफ गर्न सक्छु नी ।’
धेरै हस्पिटल चाहारेपछि ओम हस्पिटलका एक डाक्टरले जीएमसीमा तपाइको उपचार सम्भव छ भनेपछि रमण यता आएका रहेछन् । हात खुट्टा चलाउन बिस्तारै समस्या भएपछि जीएमसी आएको उनको तत्काल एमआरआईलगायतको परीक्षणबाट ब्रेनमा समस्या भएको देखिएको रहेछ ।
पोखराबाट अन्यत्र जाँदा हुने आर्थिक र मानसिक सकसबाट मुक्त भएका रमणलाई जीएमसीको चिकित्सकले यस्तो सेवा पाउने ‘पहिलो’ र ‘भाग्यमानी’ भनेका रहेछन् ।
‘मलाई खानपिनमा सहज छ, दुखाई खासै छैन’ रमणले भने ‘सुरुमा मेरो हातले धागोसमेत उठाउन नसक्ने थियो । यति ठूलो अपरेशनपछि पनि चाँडै ठिक भएजस्तो लागेको छ ।’
त्यसमाथि यस्तो सर्जरी सेवा पाउने पहिलो बिरामी भएकोमा खुशी व्यक्त गर्दै रमणले भने ‘म आभारी छु, डाक्टर र जीएमसीलाई धन्यवाद !’